काठमाडौं । दसैँ नजिकिएसँगै शहरबाट गाउँ फर्किँनेहरुको भीडभाड छ । काठमाडौंबाट नजिकका जिल्ला बाहेक अन्य टाढाको जिल्ला जानका लागि घण्टौँ लाग्ने गर्दछ । अझ गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण धेरै सडकखण्ड बिग्रिएको छ । यसअघि सडकको अवस्था सामान्य हुँदा समेत घण्टौँ जाम पर्ने समस्या रहेकोमा अहिले बाटोको अवस्था खराब हुँदा यात्रुहरुले थप जाममा पर्नुपर्ने समस्या आइपर्न सक्छ ।
त्यसकारण सरकारले लामो दुरीको यात्रा गर्दा विशेषगरी स्वास्थ्य सजकता अपनाउनु आग्रह गरेको छ । अझ हामी दसैँ तिहार लगायत पर्वका अवसरमा कामबाट छुट्टी मिलेपछि घुम्ने समय व्यवस्थापन गरिरहेका हुन्छौँ । लामो यात्राका क्रममा सावधानी अपनाउन नसक्दा धेरै किसिमका समस्याहरु समेत निम्तिने गरेको छ ।
हामी धेरै सार्वजनिक यातायात प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँ गइरहेका हुन्छौँ । यस्तो अवस्थामा सावधानी अपनाउन जरुरी हुन्छ । हामी आफू सजग हुँदा समेत अन्य व्यक्तिहरु सजगता अपनाउन नसक्दा हामीलाई स्वास्थ्य समस्याहरु देखा पर्ने समेत हुनसक्छ ।
यात्रामा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डहरु
मास्कको प्रयोगलाई निरन्तरता दिने ।
गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने ।
यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने ।
खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा मास्कले मुख छोप्ने ।
आवश्यक खानेकुरा आफैँ बोक्ने ।
होटलमा खाना खान पर्ने अवस्थामा ताजा खाने कुराहरुको छनोट गरेर मात्र खाने ।
दसैँको समयमा कतीपय स्थानका होटेलहरु पनि भरिभराउ हुने भएकाले सबै स्थानमा स्वच्छ र स्वस्थकर खाने कुरा पाइन्छ भन्ने हुँदैन । सकेसम्म घरबाटै खानेकुरा बेकेर यात्रा गर्नु उपयुक्त हुन्छ । त्यो सम्भव नभए चाडपर्वको बेला यात्रा गर्दा जहाँ पाए त्यहीँ र जे पायो त्यही नखानु नै उत्तम हुन्छ ।
साथै, अहिले देशभर डेंगुको संक्रमण पनि फैलिरहेकाले खुला ठाउँमा लामो समय नबस्ने । र, पानी जमेका खाल्डाखुल्डी वरपर बस्दा पुरा शरीर ढाक्ने कपडा लगाएर बस्नुपर्छ ।
हामी छिटो आफ्नो गन्तव्यमा पुग्ने हतारोमा लामो दुरीमा सिट नपाए पनि उभिएर वा मुडामा चढेरै हिँडिरहेका हुन्छौँ । तर त्यसो गर्दा हामीमा थप समस्याहरु निम्तिन सक्छ । त्यसकारण हामीले सधैँ लामो दुरीको यात्रामा आरामदायी सिट भएको सवारी साधनमा यात्रा गर्नुपर्दछ । त्यसको साथै यात्राका क्रममा देखिनसक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सामान्य औषधिहरु बोकेर हिँड्नु उपयुक्त मानिन्छ । जसको कारण बाटोमा आइपर्नसक्ने विभिन्न सामान्य स्वास्थ्य समस्याहरुलाई हल गर्न सक्छौँ ।
अझ हामी यात्रा गर्दा आफ्ना लत्ता कपडाले मात्रै झोला भर्ने गर्छौँ त्यसको अलवा खानेकुराहरु कमै बोकेका हुँदैनौँ । जसले गर्दा बाटोमा आकस्मिक लामो समय जाम पर्यो भने हामीलाई थप समस्या सिर्जना हुने गर्दछ । त्यसकारण हामीले आफूलाई आवश्यक पर्ने खानेकुराहरु बोकेर हिँड्नुपर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया