काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुगेको छ ।
नेपाल प्रहरीको विवरणकाअनुसार हालसम्म देशभरी गरी २ सय ४६ जनाको मृत्यु भएको छ भने १ सय ७८ जना घाइते भएका छन् । यसैगरी १८ जना बेपत्ता भएका छन् र १७ हजार १ सय ७६ जनाको उद्धार गरिएको छ ।
प्रहरीको विवरण हेर्ने हो भने बागमती प्रदेशमा सबैभन्दा धेरै मानवीय क्षति भएको देखिन्छ । बागमती प्रदेशमा १ सय ३८ जनाको मृत्यु भएको छ भने १ सय १५ जना घाइते भएका छन् । यस्तै ७ जना बेपत्ता रहेका छन् र १३ हजार ६ सय ५८ जनाको उद्धार गरिएको छ । बागमती प्रदेशको पनि उपत्यकामा मृत्युको हुनेको संख्या ७० रहेको छ भने घाइते ३७, बेपत्ता ७ जना र उद्धार २ हजार १ सय ५८ जनाको गरिएको छ ।
त्यस्तै बागमती प्रदेशपछि कोशी प्रदेशमा धेरै क्षति भएको देखिन्छ । यस प्रदेशमा २० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । यस्तै ४ जना बेपत्ता भएका छन् र २ सय ५० जनाको उद्धार गरिएको छ ।
यसैगरी मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यस्तै ३५ जनाको उद्धार गरिएको छ । लुम्बिनी प्रदेशमा मृत्यु हुनेका संख्या २ रहेको छ भने घाइते २ जना रहेका छन् । गण्डकी प्रदेशमा भने कुनै मानवीय क्षति भएको छैन भने ५ सय ५७ जनाउको उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया