काठमाडौं । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ ।
आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन ।
जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार नजिक खसेको सुक्खा पहिरो हटाएर अझै यातायात सञ्चालन गर्न नसकिएको स्थानीय रमेश गिरीले बताए । उनका अनुसार पहिरो पन्छाउन दुई वटा जेसिबी प्रयोग गरिए पनि माथिबाट निरन्तर पहिरो खसेका कारण सडक सञ्चालन हुन नसकेको हो ।
सडकमा पहिरो गएपछि यात्रुहरू तलबाट हिँडेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले जानकारी दिए । उनले जेसिबीले सफा गर्न सुरु गर्ने वित्तिकै माथिबाट पहिरो आउने र सडक पुर्ने गरेको बताए । उनका अनुसार पहिरो रोकिने बित्तिकै पहिरो पन्छाइ सडक सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया