काठमाडौं । प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले र माओवादीले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले प्रमुख तीन वटै दलले यो वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय गरेका हुन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बाढीपहिरोले जनता शोकमा रहेकाले एमालेले यो वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय गरेको बताए । ‘असोज ११ र १२ गते आएको बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ । जनता शोकमा रहेकाले यसपटक पार्टीको तर्फबाट चियापान कार्यक्रम हुनेछैन,’ गौतमले भने ।
एमालेले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन चियापान कार्यक्रम गर्ने गरेको थियो । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले बाढी पहिरोलाई कारण देखाउँदै औपचारिक रुपमै चियापान नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हरेक वर्ष पूर्णिमाको दिन चियापान गर्दै आएको थियो ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि बाढी पहिरोले धेरै जनधनको क्षति भएकाले पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरिसकेको छ । पार्टीको तर्फबाट हुने चियापान कार्यक्रम स्थगित गरिएको माओवादीले एक परिपत्रमार्फत जनाएको छ । बाढी पहिरोलाई कारण देखाउँदै सुरक्षा निकायले पनि दसैंका अवसरमा गर्ने बडाभोज कार्यक्रम यो वर्ष राखेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया