दसैँ मनाउन झण्डै १० लाखले छाडे काठमाडौं उपत्यका

लोकपथ
98
Shares

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंबाट दसैँ मनाउनका लागि घर फर्किहरुको संख्या झण्डै १० लाख पुगेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार हालसम्म ९ लाख ६६ हजारले काठमाडौं उपत्यका छाडेका हुन् ।

कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार गत असोज १४ गतेसम्म ५ लाख ६६ हजारले काठमाडौं उपत्यका छाडे भने घटस्थापना अर्थात् असोज १७ गतेदेखि यता ४ लाख २२ हजारले काठमाडौं उपत्यका छाडेका हुन् ।

‘हालसम्म झण्डै १० लाख यात्रुहरु काठमाडौं उपत्यकाबाट बाहिरिनुभएको छ । असोज १४ गतेसम्म ५ लाख ६६ हजारले काठमाडौं उपत्यका छाड्नु भएकोमा घटस्थापनादेखि आजसम्म ४ लाख २२ हजारले काठमाडौं उपत्यका छाड्नुभएको छ,’ कार्कीले लोकपथसँग भने ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका तथा बसपार्कमा यात्रुहरुको भीडभाड देखिएको छ ।

अविरल वर्षापछिको बाढीपहिरोका कारण राजमार्ग तथा सडकमार्गमा क्षति पुग्दा धेरै यात्रुहरु समस्यामा परेका छन् । दसैँको मुखमै सडकमार्गमा समस्या देखिँदा धेरै यात्रुहरु हवाई मार्गबाट समेत यात्रा गरिरहेका छन् । यस वर्ष बसपार्कमा मात्र होइन विमानस्थलमा समेत यात्रुहरुको भीडभाड देखिएको हो ।

प्रत्येक वर्ष दसैँ मनाउनका लागि लाखौँ नागरिकहरुले काठमाडौं उपत्यका छाड्ने गरेका छन् । जसको कारणले काठमाडौं शून्यप्राय हुने गरेको छ ।

दसँैको टीका आउन अझै केही दिन बाँकी रहने भएकाले अझै धेरै नागरिकहरुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?