काठमाडौं । हिन्दुहरूको महान चाड दसैँ मनाउने आ–आफ्नै तौरतरिकाहरू छन् ।
हिन्दु भित्रका विभिन्न जातिहरूले विविध तरिकाले दसैँ पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरूको दसैँ मनाउने शैली भिन्न छन् । दसैँलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरू नै हुन् । तर पनि जातजाति र भूगोल अनुसार दसैँ मनाउने विधि फरक फरक छन् । यद्यपी दसैँका विशेषता र आकर्षणहरू भने एउटै र उस्तै छन् ।
वास्तवमा दसैँ पर्व मनाउने बेलाको मौसम उपयुक्त र रमाइलो हुन्छ । शरद ऋतु भएकाले यति बेलाको समय घमाइलो मानिन्छ । वर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दसैँलाई उल्लासका साथ मनाउने प्रचलन छ । मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण दसैँलाई मानिन्छ । नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दसैँले नै प्रदान गर्दछ । तर दसैँको विशेषता र आकर्षणले भने सबै हिन्दुहरूलाई प्रफुल्लित बनाउने गर्छ । त्यस्ता केही विशेषताहरूको यहाँ चर्चा गरिएको छ ।
मालाश्री धुन
गाउँघरमा मालाश्री धुन गुन्जिन थालेपछि दसैँ आएको छनक पाइन्छ । घटस्थापना दिनदेखि रेडियो, टिभीमा यो धुन बज्ने भएकाले वातावरण मनमोहक बनाउँछ । सितार, तानपुरा र तबलालगायतका बाजाहरूको सम्मिश्रणबाट बज्ने धुनले हर्ष र उल्लासको सन्देश दिइरहेको हुन्छ । त्यसबाहेक पञ्चेबाजा, मादल, सारंगी, मुरली लगायतका बाजाहरूबाट पनि मालाश्री धुन निकाल्ने प्रचलन छ । वास्तवमा मालाश्री धुनलाई दसैँ धुन पनि भनिन्छ । दसैँमा देवीको पूजा गरिने भएकाले देवीको गुणगानका लागि यो धुन बजाउने गरिएको ऐतिहासिक मान्यता रहेको छ ।
लिङ्गे र रोटे पिङ
गाउँघरतिर मात्र होइन शहरबजार तिर पनि दसैँ आउनु पूर्व नै पिङ लगाउने चलन बढ्न थालेको छ । गाउँघरतिर पाखाबारीमा भएका बाबिया काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पाएक पर्ने स्थानमा लिङ्गे पिङ लगाउने चलन छ । हिजोआज शहरतिर पनि पैसा उठाएर पिङ लगाउने चलन बढेको छ । विजयादशमीको दिन मान्यजनको हातको टिका लगाएर केही क्षण भए पनि धर्ती छोड्नुपर्ने लौकिक विश्वासका कारण पिङ खेल्ने प्रचलन छ । पहिले पहिले काठको रोटे पिङ हाल्ने चलन रहे पनि हाल भने यो बिस्तारै लोप हुन थालेको छ ।
चंगा चेट
दसैँमा चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो । विशेष गरेर सहर बजारमा चङ्गा उडाएर दसैँको धुमधाम स्वागत गरिन्छ । पहिले पहिले नेपाली कागजको प्रयोगबाट बनेको हाते चङ्गा उडाइथ्यो । खुल्ला चौर, कौशी तथा घरको छतमा उभिएर चङ्गा चेटको मज्जा लिने चलन छ । उहिले भन्दा अहिले चङ्गा उढाउने प्रचलन बढ्दै गएको छ ।
शरद ऋतुको सुरुवातीमा पश्चिबाट सरर हावा चल्ने भएको हुँदा चाडबाडको मौसम चङ्गा उडाउनका लागि उपयुक्त हुन्छ । दसैँका बेला चंगा उढाउने प्रतियोगिता नै हुन्छ । उहिले आकाशमा चंगा उडायो भने वरुण देवताले पानी पार्छन र धान विग्रन्छ भनेर बुढापाकाले उढाउन दिँदैन थिए । यद्यपी, दसैँको मौसम उपयुक्त हुने भएकाले रमाइलोका लागि चंगा उढाउने चलन चलेको मानिन्छ ।
किम्बदन्ती अनुसार उसबेला नेपालबाट उडाएको चङ्गा तिब्बतको केरुङसम्म पुग्दथ्यो । केरुङमा बसेका गोर्खाली सेनालाई गोप्य सूचना प्रवाह गर्न चङ्गामा लेखेर पठाइथ्यो । नेपालबाट उढाएको चंगा हिमालपार भएपछि केरुङ पुग्ने विश्वास गरिन्थ्यो । संचारको विकास नभएका कारण चंगाको माध्यमले सूचना आदानप्रदान गरिन्थ्यो । उसबेला हस्तकलामा निपूर्ण व्यक्तिहरूले बाँसका पातलो सुइराहरूमा नेपाली कागजमा टाँसेर चंगा बनाउँथे । नेपाली कागजमा सूचना लेख्न पनि सजिलो हुन्थ्यो ।
नयाँ लुगा
दसैँमा नयाँ लुगा किन्ने र लगाउने चलन पुरानै हो । गाउँघरतिर नयाँ कपडा किनेर टेलर्समा सिलाउन दिने होडबाजी नै चल्छ । वर्षा सकिएर हिलोमैलो कम हुने र मौसम घमाइलो हुने भएकाले नयाँ कपडा फेर्ने चलन अनुसार नेपाली समाजमा पनि दसैँमा नै नयाँ लुगा किन्ने प्रचलन रहीआएको बताइन्छ । बालबालिकाहरूलाई नयाँ लुगा किनेर चिटिक्क पार्ने गरिन्छ । त्यसैले दसैँको समयमा नयाँ कपडाहरूको बजार चम्किन्छ ।
मार हान्ने र बलि चढाउने
दसैँमा खसी बोका, भेडा च्याङ्ग्राको बजार खुबै चम्किन्छ । किनकि बडा दसैँको नवौँ दिन आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजाआजा गरी बलि दिने चलन छ । कतिपयले यस दिनलाई मार हान्ने दिनका रूपमा पनि स्विकारिन्छ ।
दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एव देवी स्तोत्र पाठ गरिन्छ । पशु बली नदिनेहरूले कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई चढाउँछन् । तर प्रायजसो महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । घरमा मार हानेपछि मासुको परिकार बनाएर परिवारमा रमाइलो गर्दै खाने गरिन्छ । किनकि मांशाहारीहरुले दसैँमा मासु अनिवार्य मान्ने गर्छन् ।
दक्षिणा र आशीर्वाद
दसैँमा मान्यजन र आफन्त रुकामा पुगेर टीका लगाउने चलन छ । टीका लगाउँदा आर्शिवाद दिने गरिन्छ । टीका लगाउँदा दिने आर्शिवाद दसैँको भिन्नै हुन्छ । मान्यजनहरूले संस्कृत भाषामा भएको ‘आयुद्रोणसुते..’ भट्याएर उमेर र पेशाअनुसारको आशीर्वाद दिने गरिन्छ ।
टीका जमरा र आशीर्वादसँगै मावली, बुढो मावली, ससुरालीका मान्यजनबाट प्राप्त भएको दक्षिणाको महत्त्व पनि ठूलै हुन्छ । टीका ग्रहण गर्न जानेहरूले साथमा फलफूल, मिठाइ, कपडालगायतको कोसेली लाने चलन छ । त्यसैले दसैँमा नयाँ नोट सटहीका लागि बैङ्कहरूले समय र सीमा नै निर्धारण गर्ने गर्छन् ।
टीका र जमरा
दसैँमा रातो वा सेतो टीका लगाउने र जमरा सिउरिने चलन छ । टीका र जमरा दसैँको मुख्य पहिचान पनि हो । मान्यजनबाट टीका थापेर घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा टिपेर टीकाका साथ लगाउने गरिन्छ । टीका र जमरा अन्नवाट बनिने र दही पशुपालनको प्रतीक भएकोले यसलाई अहिले वैज्ञानिक ढंगवाट कृषि उपजको परिचय गराउने पर्वको रूपमा लिइने गरेको छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ । परिवारमा टीका लगाइ आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग समेत टीका लगाउन जाने परम्परा छ । यता धार्मिक दृष्टिकोणका अनुसार दैत्य महिशासुरहरुको अत्याचार सहन नसकी दुर्गा भवानीले कालीको रूप धारण गरेर उनीहरूलाई समाप्त पारेर विजय उत्सव मनाएको दिन भनेर विजय दशमीमा रातो टिका र जमरा लगाएको पौराणिक मान्यता छ ।
सेतो टीका
दसैँमा कतिपय आदिवासी जनजाति समुदायभित्र सेतो टीका र जमरा लगाउने प्रचलन छ । आदिवासी जनजातिहरूको हरेक शुभ कार्य गर्दा दहीमा चामल मुछेर सेतो टिका लगाउने चलन भएकाले दसैँमा सेतै टीका लगाउने परम्परा छ । कतिपय आदिवासीहरूले दसैँका दिन नै आफ्नो अधिकार खोसिएकाले रातो टीका बहिस्कार गरेर सेतो लगाउन थालिएको बताएका छन् । यद्यपी, पशुपालन र कृषि पेसा गरेर बस्ने पहाडी मूलका आदिवासी जनजातिहरूले परापूर्व कालदेखि नै दहीमा चामल मुछेर सेतो टीका लगाउने चलन चलाएको भनाइ पनि छ । सेतो टीकासँग पहेँलो जमरा लगाउने चलन छ । यसको वैज्ञानिक र प्राकृतिक कारण पनि रहेको बताइन्छ ।
भेटघाट र रमाइलो खेल
चाडपर्व भेटघाट गर्ने सुनौलो अवसर हो । दसैँ भेटघाट जुराउने उपयुक्त अवसर हो । विभिन्न देश तथा टाढा टाढा रहेका मानिसहरू दसैँमा फर्किने चलन छ । आफ्ना विभिन्न ब्यतताहरुलाई मिलाएर दसैँको छेकोमा हिन्दुहरू गाउँघर फर्कने गर्छन । त्यसैले दसैँ भेटघाटको रमाइलो अवसर पनि हो । दसैँमा तास तथा लंगुरपुर्जा खेलेर रमाइलो गर्ने चलन छ । संगठित रूपमा जुवा तास खेल्न प्रतिबन्ध रहे पनि आफन्त र साथीहरू मिलेर रमाइलोका लागि दसैँमा तास अनिवार्य जस्तै भएको छ । अन्य रमाइला खेलहरू पनि दसैँमा विशेष आयोजना गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया