दसैँ बिदाको पाँच दिन आफ्ना शाखा खोल्न बैंकहरु बाध्य नहुने

लोकपथ
203
Shares

काठमाडौं । दसैँ बिदाको समयमा बैंकका शाखा खोल्न बैंकहरु बाध्य नहुने भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकर्सहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले शाखा खोल्ने, नखोल्नेबारे कुनै निर्णय नगरेकाले बैंकहरू यो विषयमा स्वतन्त्र भएका हुन् ।

भोलि फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा दिनेगरी स्वीकृत भएको क्यालेन्डरअनुसार अब कम्तीमा पनि पाँच दिन सरकारी कार्यालयहरू नखुल्ने र राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई उक्त अवधिभर बिदा दिनेगरी क्यालेन्डर बनाएकाले यो अवधिमा बैंकका शाखा खोल्न बाध्य नपार्ने नीति राष्ट्र बैंकले लिएको हो ।
यसअघि प्रत्येक त्रैमासको २५ गतेदेखि ३० गतेसम्म सबै राजश्व काउन्टरहरू खुला गर्नैपर्ने व्यवस्था रहेकोमा दसैँका लागि यो व्यवस्था निलम्बन गरिएको छ ।

मंगलबार विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकले यो त्रैमासका हकमा यो व्यवस्था लागु नहुने जनाएको हो । सूचनामा असोज २९ र ३० गते नियमित रूपमै बैंक खुल्ने पनि उल्लेख छ ।

राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलले सार्वजनिक बिदा दिनेगरी क्यालेन्डर स्वीकृत गरेकोले यो समयमा बैंकहरुलाई शाखा खोल्न केन्द्रीय बैंकले बाध्य नपारेको बताए । तर, बैंकहरुले चाहेमा सञ्चालन गर्न सक्ने पनि उनले बताए ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले पनि बैंकहरुको शाखा खुलाउने सम्बन्धमा संघले कुनै निर्णय नगरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?