खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

लोकपथ
70
Shares
फाइल तस्बिर

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले  यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौंबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक  खुम्बु भित्रिएका छन् ।

हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए । पर्यटक आगमनको याम  सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनले बताए । यद्यपि पर्यटक लिएर काठमाडौं र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए । 

पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । ‘उनले भने, अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।’

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फार्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटेल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटेल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?