कैलाली । कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरूलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने,‘हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।’ केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम खेर जाने हो की भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ ।
खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्राउनका लागि थ्रिसेरको पालो कुर्नुपरेको दुखेसो पोखे । धान थ्रिसेर गर्नका लागि पालो पर्खदासमेत धान थ्रिसेर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उनले बर्ताए ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्रयाउने गरेका किसानसमेत यतिबेला मौसमी गडबडीका कारण आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउन लागि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया