खोटाङ । खोटाङमा कृषि उपज खेर जान नदिन कृषि संकलन केन्द्र स्थापना गरेको छ ।
कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको केपिलासगढी गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख लगानीमा गाउँपालिकाको कृषि शाखासँगै जोडिएको कार्यालय भवनमा कृषि संकलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।
गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै विकास गरी कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि संकलन केन्द्र स्थापना गरिएको गाउँपालिकाका प्रमुख समीर राईले जानकारी दिए । ‘कृषकको कृषि उपजले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मूल्यमा कृषि खरिद गर्छ, खरिद गरेर संकलित कृषि उपजलाई अन्य स्थानमा सप्लाई गरिदिन्छौँ, ’उनले भने, ‘आगामी दिनमा कृषकको कृषि उपज बजार नपाएर कुहिँदैन, गाउँपालिकाले खरिद गर्छ, कृषकले त्यसको मूल्य पाउँछ ।’
संकलन केन्द्रमा जम्मा भएका अकबरे खुर्सानीलाई अचार, रायो सागलाई गुन्द्रुक, आलुलाई चिप्स, पिँडालुलाई सुकुटीलगायत परिकार बनाएर बिक्री गर्ने गरी कृषि संकलन केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । कृषि संकलन केन्द्रमा संकलित कृषि उपजलाई राजधानी काठमाडौँलगायत सहरसँग समन्वय गरेर निर्यात गर्नेसम्मको योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया