दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री ओली

लोकपथ
147
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्र आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले  ५१ लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा.केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा  एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिए । उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गरे। 

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताए । उनले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैह्र आवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे । उनले संघलाई राजनीतिक आधारमा नभई सबै गैह्र आवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन सुझाव दिए । 

यसैगरी आजै विद्युत उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट  ६ लाख ४६ हजार पाँच सय तथा नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट  १० लाख कोषमा हस्तान्तरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?