पर्वतका सबै ग्रामीण सडक सञ्चालन

लोकपथ
119
Shares

पर्वत । नेपालीहरूको महान् पर्व बडादसैँको मुखैमा बर्खा याममा अवरुद्ध बनेका पर्वतका सबैजसो ग्रामीण सडक सञ्चालन भएका छन् । यस वर्षको मनसुन पनि सकिनै लागेको र चाडपर्व मनाउन ग्रामीण क्षेत्रमा आउने यात्रुहरूलाई दृष्टिगत गर्दै जिल्लाका मुख्य तथा सहायक सडक सञ्चालन गरिएको हो । 

पर्वतका सात वटै पालिकाले बजेट व्यवस्थापन गरेर दसैँ अगावै सडक सञ्चालन गरेका हुन् । अधिकांशले डोजर र स्काभेटरको प्रयोग गरेका थिए भने केही पालिकाले उपभोक्ता समितिमार्फत सडक सरसफाइ गरेका हुन् ।

अहिले सदरमुकाम जोडिने कुनै पनि सडक अवरुद्ध नरहेको पर्वत यातायात व्यवसायी समितिले जनाएको छ । गाउँ फर्किने र खाद्यान्न ढुवानी गर्ने सबैखाले सवारी साधन सहज रूपमा गाउँ गाउँमा पुग्न थालेको पर्वत यातायात व्यवसायी समितिका सञ्चालक हेम शर्मा पौडेलले बताए । वर्षा रोकिएकाले कच्ची सडकमा सवारी साधन चलाउन पनि सहज भएको छ । 

फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले मुख्य सडक मात्र नभई टोल टोलमा पुग्ने सडक मर्मत तथा सरसफाइ गरेर यातायात सञ्चालन गरिएको बताए । उनले नगरपालिकाका दुई वटा डोजर प्रयोग गरेर एक सातामा सबै सडक खुलाइएको बताए । जिल्लाको मुख्य सडकको सूचीमा रहेका दोविल्ला–फलेवास, दोविल्ला–ठुली पोखरी–कार्किनेटा, कालीगण्डकी करिडोर, बेनी–मालढुंगा, मध्य पहाडी लोकमार्गको पर्वत खण्ड, पातीचौर–देउपुर–लप्सीबोट तथा देउराली जोड्ने, कुश्मा–दुर्लुङ, अर्मादी–बनौ, मिलनचोक–शालिजा–भोटेडाँडा, चिसापानी–हुवास–त्रिवेणी–खहरे खोला, लमाए–लुङ्खु–हुवासजस्ता मुख्य सडक मात्र नभई अन्य सडक सञ्चालन भएका यातायात व्यवसायीले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?