उपराष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त

लोकपथ
49
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले समाजमा नयाँ उत्साह र उमंग छर्ने बताएका हुन् । 

‘आनन्द, खुसी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्’, शुभकामना सन्देशमा उल्लेख छ । 

उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गरे । यस्ता पर्वले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुष्ण राख्न सहयोग पुग्ने भन्दै उनले नेपालीका महत्त्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको बताएका छन्।

‘भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, बडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ । विजयादशमी सामाजिक मात्र नभई राष्ट्रिय महत्त्व बोकेको पर्व पनि हो । यसले कुप्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ’, उपराष्ट्रपति यादवले भने ,‘संसारमा अन्याय र अत्याचार गर्नेहरूको सधैँ पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सधैँ विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।’

उनले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाउ पुगोस् भनी कामनासमेत गरेका छन् ।  यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?