काठमाडौं । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ । वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार बिहानदेखि सञ्चालन भएको हो ।
नेपालीको महान् चाड बडादसैँलाई लक्षित गर्दै फलेबास नगरपालिकाको पटकपटकको आग्रहपछि आयोजना कार्यालयले सडक मर्मत गरेर सञ्चालनमा ल्याएको फलेबास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए ।
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक खुलाउन आनाकानी गरेपछि नगरपालिकाले आयोजनालाई आग्रह दिएको थियो ।
सडक सञ्चालन भएसँगै कुश्मादेखि दक्षिण पर्वतका फलेबास, महाशिला, विहादी, पैयुँ गाउँपालिकामा जाने सवारीसाधन सो मार्ग हुँदै चल्न थालेका छन् ।
त्यस क्षेत्रमा बासिन्दालाई झन्डै एक घण्टाको सवारी यात्रा छोटिएको नगरप्रमुख तिवारीले बताए । यसअघि जिल्लाका चार पालिकामा जाने सवारीसाधन दोबिल्ला–साइकलचोक–मुडिकुवा हुँदै जाने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया