म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले संकलन केन्द्र स्थापना गरेको हो ।
सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब सात लाखको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी संकलन केन्द्र सञ्चालन गरेको जानकारी दिए । ‘हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन, ’ उनले भने ।
‘गाउँका किसानबाट दूध संकलन गरेर पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।’
पैँतीस किसानले दैनिक एक सय ४० लिटरका दरले संकलन केन्द्रमा दूध ल्याउने गरेका छन् । व्यावसायिकरुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष विमल बरुवालले बताए ।
‘बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध संकलन र बिक्री वितरण गर्न थालेका छौँ,‘ उनले भने । विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरुपमा सञ्चालनमा छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफूल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया