‘नो हर्न’ अभियान थप सशक्त, ९ हजार ८ सय कारबाहीमा

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको छ ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । ‘नो हर्न’लाई अभियानकै रुपमा सञ्चालन गरी पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम सञ्चालन, नो हर्न स्टिकर टाँसलगायत विविध कार्यक्रम गरी हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो ।

सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा वृद्धि भएपश्चात कडाइका साथ कारबाही ट्राफिक प्रहरीले गर्दै आएको छ । सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर वृद्धि हुने ध्वनि प्रदूषणलाई निरुत्साहित गरी प्रदूषण कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।

जथाभाबी हर्न बजाउँदा पैदलयात्री विशेषगरी बालबालिका, जेष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाईसमेत ध्यानमा राखी नियमित निगरानी र कारबाही गरिँदै आएको डिआजी बोहराले बताए ।

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरूले हर्न बजाउन सुरु गरेका छन् । गत आव०८०।८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यस वर्ष समेत ९ हजार ८ सय ३० सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जथाभाबी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढी ध्वनि प्रदूषण गर्ने गरेको छ । दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरू भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?