काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–३ स्थित हनुमन्ते गलैँचा उद्योगमा बुधबार बेलुका आगोलागी भएको छ ।
व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएका उक्त गलैँचा उद्योगमा आगलागी हुँदा ८० करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जनाकारी दिए । उनले भने, ‘उद्योग सञ्चालनका क्रममा विद्युत सर्ट भई आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएको छ ।’
आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्णरुपमा अझ क्षतिको विवरण आइसकेको छैन ।
आगलागी सुरु भएसँगै विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको तिमल्सिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया