काठमाडौं । सुर्खेत र सुनसरीबाट अवैध लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ खजुराबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम, २ थान मोबाइल र नगद २ हजार ५ सय रूपैयाँसहित एक जना पक्राउ परेका हुन् । पदैलेख नारायण नगरपालिका–११ बस्ने २४ वर्षीय दिलीप सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१५ परिवर्तित मार्गबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय राजु थापा र २८ वर्षीय अभिषेक मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया