बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

लोकपथ
0
Shares

काठमाडौं । बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि ४ लाख ७१ हजारको बोलकबोल भएको हो । 

बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीन जनाको प्रतिस्पर्धामा रघुगंगा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ । 

बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो । अन्तिममा लिखित रूपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो । 

सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुंगो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिए ।

गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै ३ लाख ३० हजार रकम तिरेर सरकारी मार हानेका थियो । यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा ३ लाख १५ हजार, २०७८ सालको दसैँको नवमीमा भगवतीमा ३ लाख, २०७६ सालको दसैँमा २ लाख ८० हजारमा मार हानेका थिए ।

नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरूको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए ।

भगवती कोत मन्दिरमा कालरात्रिमा कोतमन्दिरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ । कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । 

तत्कालीन बाइसे/चौबीसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?