प्रधानन्यायाधीश राउत मलेसियामा, कामु प्रधानन्यायाधीशमा सपना मल्ल

लोकपथ
140
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाश मानसिंह राउत मलेसिया प्रस्थान गरेका छन् । मलेसियाको राजधानी क्वालालुम्पुरमा हुने प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी हुन राउत मलेसिया पुगेका हुन् ।

बिहीबार मलेसियन एयरलाइन्सको उडानबाट प्रधानन्यायाधीश राउतको टोली मलेसिया प्रस्थान गरेको हो । एसिया तथा प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको १९ औँ सम्मेलनमा भाग लिनका लागि राउत मलेसिया प्रस्थान गरेका हुन् ।

मलेसियन जुडिसियरी र जुडिसियल सेक्सन अफ ल एसियाको संयुक्त आयोजनामा असोज २५ देखि २८ गतेसम्म आयोजना हुने एसिया तथा प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको १९ औँ सम्मेलनमा भाग लिन उनी त्यहाँ पुगेका हुन् ।

प्रधानन्यायाधीशको भ्रमण टोलीमा मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेलसमेत सहभागी भएका छन् ।

कामु प्रधानन्यायाधीशमा मल्ल
प्रधानन्यायाधीश राउत एसिया तथा प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको १९ औँ सम्मेलनमा भाग लिन मलेसिया प्रस्थान गरे लगत्तै कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पाएकी छिन् । संविधानको धारा १२९ को उपधारा ६ बमोजिम प्रधानन्यायाधीश देश बाहिर रहेकाले कामु प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीशका रूपमा मल्लले कामकाज सम्हालेकी हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा ६ मा यस्तो व्यवस्था रहेको छ ।
‘प्रधान न्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधान न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधान न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?