प्रहरी महानिरीक्षक कुँवरले गरे दसैँको मौलो पूजा

लोकपथ
98
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी हेडक्वार्टरमा मौलो पूजा गरेका छन् । शुक्रवार हेडक्वार्टरभित्र रहेको प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजा र सङ्कल्प पूजा गरेका हुन् ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको मौलो पूजा अर्चनाको क्रममा महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पन्जा छापसमेत लगाएका छन् । मौलो पूजाकै अवसरमा महानिरीक्षक कुँवरले विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी र नगद पुरस्कार तथा प्रहरी हवलदार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदानसमेत गरेका छन् ।

मौलो पूजाको अवसरमा महानिरीक्षक कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि मूलकोत हनुमान ढोकाको लागि निशान प्रस्थान गराइएको छ ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो, जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अङ्कित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्ति पीठ र इस्ट देवताको प्रतिकका रूपमा निशान झन्डालाई लिइन्छ ।

प्रहरी सङ्गठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झन्डालाई पूजा गर्ने परम्परा रहेको छ । प्रहरीले २०११ सालमा निशान झन्डा प्राप्त गरेपश्चात् हरेक वर्ष बडा दसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?