बुद्ध एयर २८ वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय उडानको तयारी

लोकपथ
896
Shares

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर २८ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २७ पार पार गरेको उपलक्ष्यमा शुक्रवार २७ औँ वार्षिकोत्सव मनाएको छ ।

शुक्रवार कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले केक काटेर २७ औँ वार्षिकोत्सव मनाएका छन् । उनले कम्पनीलाई सफलतामा पुराउन सहयोग गर्ने कर्मचारी र सेवाग्राहीलाई धन्यवाद दिँदै अझै सुरक्षित र विश्वासिलो सेवा दिने प्रतिबद्धता जनाएका छन् ।

सन् १९९७ को अक्टोबर ११ मा दुई वटा १८ सिट क्षमताको १९००डी मोडलको बिचक्राफ्ट विमानबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको कम्पनीसँग यति बेला १८ वटा एटीआर विमान रहेका छन् । १८ मध्ये १६ वटा विमान एटीआर ७२ मोडलका छन् भने २ वटा विमान एटीआर ४२ मोडलका रहेका छन् । सुरुवाती समयमा इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)बाट ऋण लिएर कम्पनीले क्यानेडियन कम्पनीको बिचक्राफ्ट विमान खरिद गरेको थियो । पछि आफूसँग रहेको बिचक्राफ्ट विमान सन् २०२३ मा क्यानेडियन कम्पनीलाई नै किनेकै मूल्यमा विक्री गरेको थियो ।

२७ वर्षे उडान यात्राका क्रममा दुई करोड २० लाख भन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरेको कम्पनीले जनाएको छ ।

नेपालको हवाई क्षेत्रमा आन्तरिक उडानमा ठुलो हिस्सा ओगटेको बुद्ध एयर हवाई सुरक्षाका दृष्टिकोणले बढी सुरक्षित रहेको देखिएको छ । दुर्घटनाका तथ्याङ्क हेर्दा बुद्ध एयरको उडान र विमानको सङ्ख्या धेरै भए पनि जम्मा २७ वर्षको इतिहासमा मात्रै एक पटक बिचक्राफ्ट विमान दुर्घटनामा परेको छ । माउन्टेन फ्लाइटबाट फर्कने क्रममा ललितपुरको कोटडाँडामा क्यानेडियन बिचक्राफ्ट विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित सवार १९ जनाकै मृत्यु भएको थियो । यद्यपि उडान सङ्ख्याको दृष्टिकोणले यो अन्य विमान कम्पनीमा भएको दुर्घटनाभन्दा निकै कम हो ।

कम्पनीले हाल देशका सबै मुख्य सहरहरूमा उडान भरिरहेको छ । कम्पनीले हाल काठमाडौंबाट भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, पोखरा, राजविराज, सिमरा, सुर्खेत, तुम्लिङटार र भारतको वाराणासीमा उडान भरिरहेको छ । त्यसै गरी कम्पनीले पोखराबाट भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज र सिमराको समेत उडान भरिरहेको छ ।

बुद्ध एयरले नियमित अन्तर्राष्ट्रिय उडानको समेत तयारी गरेको छ । हाल भारतको बनारसमा साताको तीन उडान भरिरहेको कम्पनीले अब भारतको देहरादुनमा समेत उडानको प्रयास गरिरहेको छ । पोखराबाट भारतको देहरादुन लगायतका स्थानमा उडान भर्नका लागि कम्पनीले निवेदन दिएको भए पनि हालसम्म उक्त निवेदन अध्ययनकै क्रममा रहेको छ ।

कम्पनीले पहिले काठमाडौंबाट भुटानको पारो विमानस्थलमा समेत १८ सिटको बिचक्राफ्ट विमानबाट उडान भरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?