संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

लोकपथ
56
Shares

काठमाडौं । दसैँ, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ । 

विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दसैँ तिहारमा पुनः संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो । काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ । नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो ।

यहाँको रुपा गाउँपालिकाले दुुई वर्ष यता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नबराज ओझाले बताए । ‘पिर्के पिङप्रतिको आकर्षण बढाउन दुुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत १० हजार प्रोत्साहन रकम दिने गरिएको छ’ ,उनले भने, ‘दुुई वर्ष अघि ६ वटा मात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ।’ 

कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ । २०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए ।

दसैँका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?