पोल्यान्डमाथि पोर्चुगलको शानदार जित

लोकपथ
0
Shares

काठमाडौं । युइएफए नेशन्स लिगको समूह एकमा पोर्चुगलले पोल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै आफ्नो शतप्रतिशत जितको लयलाई कायम राखेको छ ।

खेलको २६औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए, जुन निकै राम्रो टिम मुभबाट आयो । त्यसपछि ३७औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले राफाएल लेओको पोस्टमा लागेको प्रहारको रिबाउन्डमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

पोल्यान्डका लागि पिओटर जिएलिन्स्कीले ७८औँ मिनेटमा गोल गर्दै अन्तर २–१ बनाए पनि ८८औँ मिनेटमा पोल्यान्डका जन बेद्नारेकले आत्मघाती गोल गरेपछि खेलको नतिजा पोर्चुगलको पक्षमा पुग्यो ।

अब पोर्चुगलले आफ्नो अर्को खेल मङ्गलवार अन्तिम स्थानमा रहेको स्कटल्यान्डसँग खेल्नेछ भने पोल्यान्डले शीर्ष दुई स्थानको लागि मुख्य प्रतिद्वन्द्वी क्रोएसियालाई घरेलु मैदानमा स्वागत गर्नेछ।

यही समूहमा रहेको क्रोएसिया विजयी भएको छ । शनिवार राति भएको खेलमा क्रोएसियाले स्कटल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

स्कटल्यान्डले खेलको सुरुवातमै अग्रता लिएको थियो तर भारको विवादास्पद निर्णयका कारण अन्तिम समयमा बराबरी गोल अस्वीकृत भएपछि स्कटल्यान्डलाई अङ्कविहीन हुनुप-यो ।

स्कटल्यान्डले खेलको पहिलो गोल ३२ औँ मिनेटमा ग-यो । बिली गिलमोरले बल खोसेपछि बेन डोकले दायाँ किनारबाट क्रस गरे, जसले क्रोएसियाली डिफेन्सले क्लियर गर्न नसकेको बललाई रयान क्रिस्टिले उक्त गोल गर्दै अग्रता दिलाए ।

तर, स्कटल्यान्डले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । चार मिनेट पछि, इभान पेरिसिचले बल कटब्याक गरे र इगोर मातानोभिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए ।

क्रोएसियाले खेलमा अग्रता ७०औँ मिनेटमा लियो । सासा सोजाको प्रहारलाई गोलरक्षक क्रेग गोर्डनले रोक्ने प्रयास गरे पनि, बल हावामा रहेका बेला आन्द्रेज क्रामारिचले हेडर गर्दै गोल गरे । यस गोलले क्रोएसियालाई २–१ को अग्रता दिलायो ।

खेलको अतिरिक्त समयमा, स्कटल्याण्डका चे एडम्सले क्रोएसियाका खेलाडीको टचबाट बललाई जालीमा पु-याए । तर भारको जाँच पछि, एडम्स अफसाइड भएको पुष्टि भएपछि गोल रद्द गरियो । यस निर्णयले स्कटल्यान्डलाई निराश बनायो र उनीहरू अङ्कविहीन रहन बाध्य भए । जितसँगै समूह ए को १ मा ९ अङ्कसहित पोर्चुगल शीर्ष स्थानमा छ। क्रोएसिया ६ अङ्कसहित दोस्रो र पोल्यान्ड ३ अङ्कसहित तेस्रो तथा बिना अङ्क स्कटल्यान्ड पुछारमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?