छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा १० जनाको मृत्यु, १० गम्भीर घाइते

लोकपथ
7
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन् ।

केन्द्रीय प्रहरी सञ्चारका अनुसार सुनसरीको दुहबी नगरपालिका ८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प १७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने ५८ वर्षीय डुकमाया सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित सडकमा सुदुरपश्चिम प्रदेश ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट नाथ थर वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शनिवार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा सवार रही घाइते भएका भएका ३ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका–३ केयौटलियास्थित सडकमा लु. ३१ प १७७२ नम्बरको मोटरसाइकल र लु. ४ प ९५१ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिवार दिउँसो दुर्घटना हुँदा लु.४ प ९५१ नम्बरको मोटरसाइकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–८ बरउलि बस्ने ४५ वर्षीय नरसिंह चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.३१ प १७७२ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।

त्यस्तै झापाको कमल गाउँपालिका ४ अमलडाँगीस्थित सडकमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका ८ बस्ने ३३ वर्षीय अनिल कुमार लिम्बु र २० वर्षीय सोमराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसै गरी झापाकै मेचीनगर नगरपालिका–७ स्थित सडकमा काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिगेन राजवंशीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरी बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ औराहा चोक नजिकै ना. ७ त २९८४ नम्बरको ट्याक्टर र ना.३९ प ७९१० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका–१ सुकुम्वासी टोल बस्ने ३० वर्षीय रवीन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक भने फरार छन् ।

त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका–५ पोठिया चोकस्थित सडकमा कोयलपुरबाट नेमुवातर्फ जाँदै गरेको प्र–१–०२–०५० प ५०९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुढिगंगा गाउँपालिका २ अमाही बस्ने १६ वर्षीय आयुस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसै गरी बाँकेको कोहलपुर नगरपालिका ९ कौशिल्या हस्पिटल अगाडि कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे. ११ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही नगरपालिका सल्यानी टोल बस्ने ६७ वर्षीय रुद्र बहादुर घर्ती मगरको मृत्यु भएको छ । शनिवार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्ज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसै गरी सिराहाको बरियारपट्टी गाउँपालिका ३ बरियारपट्टी चोकमा झाझपट्टीबाट सिराहातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने सरोज साफीको छोरी ३ वर्षीय गङ्गा कुमारी साफीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?