काठमाडौं । काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ ।
दसैँमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको संख्या बिस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
उनकाअनुसार आज उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दसैँ अवधिमा काठमाडौं उपत्यकामा छिटपुट बाहेकका ठुला सवारी दुर्घटना नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।
उनले भने, ‘अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा ठुला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए हामी खुसी छौँ ।’ अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ ।
दसैँका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौं फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया