सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

लोकपथ
196
Shares

काठमाडौं । विगतमा शिरदेखि पाउसम्म सुनचाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।

टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनले आजभोलि खासै गहना लगाउनुहुँदैन । ‘विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो’ ,उनले भनिन्, ‘तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।’

घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ ।

गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउँछिन् । ‘गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन’ ,उनले भनिन्,‘तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।’ 

सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचाँदीको कारोबार नरहेको बताए । ‘सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ’, उनले भने, ‘सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?