खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

लोकपथ
28
Shares

काठमाडौं । आज (मंगलबार) देखि बडादसैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादसैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् ।

सरकारले दसैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौंको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् । यस वर्षको दसैँमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए ।

तर आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।  मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?