साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका भुटान र बंगलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बंगलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि  काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ ।

सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

उक्त प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ । प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ ३ सय र भीआइपीतर्फ ५ सय तोकिएको छ  । त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ एक हजार कायम गरिएको छ । 

यसैगरी प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?