डेंगु संक्रमितको संख्या १९ हजार नाघ्यो, ९ जनाको मृत्यु

लोकपथ
119
Shares

काठमाडौं । देशभर डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेको छ । संक्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइ सकेका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्यांकअनुसार डेंगु संक्रमितको संख्या १९ हजार ५ सय ९९ पुगेको छ । 

डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म ३ हजार एक सय ३ जना प्रभावित बनेका छन् ।

यस्तै कास्कीमा २ हजार ८ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ भने तनहुँमा २ हजार एक सय ७, पर्वतमा एक हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बागलुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

विसं २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?