गोकर्णेश्वरमा युवकको हत्या, ३ जना पक्राउ

लोकपथ
203
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ मा युवकको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा पाँचथर तुम्मिङ घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भई हाल बुढानीलकण्ठ बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ वर इलाम घर भई हाल गोकर्णेश्वर बस्ने २७ वर्षीया बिमला भट्टराई छन् । 

सोही ठाउँस्थित सार्वजनिक स्थानमा सुर्खेत लेकबेशी घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा बस्ने ४३ वर्षीय होम बहादुर फौजामगरलाई शरीरमा घाउ चोट भई अचेत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीकाले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा उनीहरुको संलग्न रहेको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पश्चात उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?