५ रसियन आरोहीको शव काठमाडौं पठाइयो

लोकपथ
42
Shares

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ५ जना रसियन पर्वतारोहीको शव संकलन गरेर आज काठमाडौं लगिएको छ । ७ हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।  

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु ७ हजार ६ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीकाअनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?