समुद्री डुंगामा ६६ दिनसम्म हराएका रूसी युवकले सुनाएका ती पलहरु

लोकपथ
42
Shares

मस्को । समुद्री डुंगामा ६६ दिनसम्म हराएका रूसी युवकले आफ्ना पीडाका ती क्षणहरूलाई अहिले अस्पतालको शय्याबाट कारूणिक रूपमा प्रकट गर्दा उपस्थित सञ्चारकर्मीसमेत भावुक बनेका छन् ।

बुधबार ४६ वर्षीय मिखाइल पिचुगिनलाई आफ्नो भाइ र १५ वर्षीय भतिजासँग डुंगामा निस्केको दुई महिनाभन्दा बढी समयपछि सुदूर पूर्वी कामचटका प्रायद्वीपको तटबाट सोमबार माछा मार्ने डुंगाले उद्धार गरेको थियो ।

मगदान शहरको एक अस्पतालमा लगिएको शय्यामा सुतेर नै उनले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका हुन् । लामो समय समुद्रमा बस्दा स्वास्थ्य अवस्था खराब भएपछि राता राता आँखाको हेराइबाट उनको पीडा झल्किन्थ्यो तर पनि उनी आफूलाई कमजोर नदेखाउन प्रयास गरिरहेका थिए । उनले भने, ‘परमेश्वरको मद्दत पाएर, अरू कसरी ? एन्जल भनिने डुंगाको चालक दलले मलाई देख्यो र उनीहरूले नै मलाई बचाए । उनीहरू मेरा लागि परमेश्वरले पठाएका दूत थिए ।’

‘मैले पिउनका लागि वर्षाको पानी जम्मा गरेँ र तीर्खा मेटाएँ,’ उनले भने । पिचुगिनले ऊँटको केशले भरिएको स्लिपिङ ब्यागले पनि आफू बाँच्न मद्दत गरेको बताए ।

‘भिजे पनि यसले मलाई समुद्रको चिसोमा न्यानो दियो । यो भिजेको थियो, यो सुक्खा हुँदैनथ्यो तर जब म यसभित्र छिर्थेँ, मेरो शरीरको तापक्रमले यसलाई न्यानो पाथ्र्यो,’ उनले भने, ‘मसँग कुनै विकल्प थिएन । बाँच्नको लागि मेरो लागि प्रेरणा मेरो घरमा मेरी आमा हुनुहुन्थ्यो र छोरी थिइन् ।’

म्यागाडानका डेपुटी गभर्नर तातियाना सावचेन्कोले उनको अवस्था सन्तोषजनक रहेको बताएका छन् । पिचुगिनलाई घर फर्कन र आफन्तलाई भेट्न जाँदा प्रशासनले सहयोगसहित पठाउने गभर्नर सावचेन्कोल बताए ।

पिचुगिन साइबेरियाको उलान–उडेबाट आएका हुन् तर उनी चालकको रूपमा सुदूर पूर्वी टापु सखालिनमा काम गरिरहेका थिए । अगष्ट ९ मा उनी आफ्ना भाइ ४९ वर्षीय सर्गेई र १५ वर्षीय भतिजा इल्यासँग खाखालिनतर्फ प्रस्थान गरेका थिए ।

दुर्भाग्यबस, उनीहरू पुग्न असफल भए, डुंगा कामचटकातिर गएको आशंकामा रूसी उद्धारकर्ताहरूले हेलिकप्टर र विमानद्वारा त्यस क्षेत्रको सर्वेक्षण गरे तर केही पनि फेला परेन र अन्ततः खोजी कार्य बन्द गरियो ।

डुंगा आफ्नो सुरुको स्थानबाट करिब एक हजार किलोमिटर (६७० माइल) टाढा फेला परेको थियो । पिचुगिनको १०० किलोग्राम (२२० पाउण्ड) तौलका कारण उनी बाँचेको हुन सक्ने उनकी पत्नीले बताएकी छन् । रुसी टेलिभिजनका अनुसार सोमबार फेला पर्दा उनको तौल ५० किलो मात्र थियो ।

उनकी पत्नी येकातेरिनाले आरआईए नोभोस्ती समाचार संस्थासँग भनिन्, ‘यो एक प्रकारको चमत्कार हो । पिचुगिनले दुई हप्ताका लागि पर्याप्त खाना र पानी लिएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?