काठमाडौं । आज बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजलाई त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
बिहान साढे ६ बजे उडेको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा समस्या देखिएपछि झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाइभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ । हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन्,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने, ‘माउन्टेन फ्लाइटका लागि उडेको जहाजले प्रतिकूल मौसमको कारण हिमालका चुचुराहरु पनि देखिएका थिएनन्, हिमाल नै नदेखिएपछि काठमाडौं फर्किंदै गर्दा जहाजको दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको थियो, माउन्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौं फर्किंने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको हो ।’
सो जहाजमा ३५ यात्रु सवार थिए । ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउन्टेन फ्ल्याइट गराइने बुद्ध एयरले जनाएको छ । अर्को माउन्टेन फ्लाइटमा जान नचाहने यात्रुको पैसा फिर्ता गरिने बुद्ध एयरले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया