अदालतको अवहेलना मुद्दामा बार अध्यक्षसँग लिखित जवाफ माग

लोकपथ
42
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलनामा लिखित जवाफ दिन माग गरेको छ।

उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैँ अघि दर्ता भएको थियो।

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उनलाई सात दिनभित्र आफै वा आफ्नो बारेमा लिखित जवाफ बुझाउन आदेश दिएको हो । 

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए।

बार अध्यक्षले गरेको टिप्पणीप्रति न्याय परिषद्ले समेत विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको थियो। बार अध्यक्षले अदालत, न्याय परिषद् र प्रधानन्यायाधीशविरूद्ध कुलषित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको परिषद्को विज्ञप्तिमा उल्लेख थियो।

केहीदिनमै उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित परिषद्ले सर्वोच्चमा २ न्यायाधीश मात्र सिफारिस गरेकोमा विरोध गर्दै बार अध्यक्षले एक कार्यक्रममा भाषण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?