इजरायली हमलामा हमासका प्रमुख याह्या सिन्वरको मृत्यु, हमासलाई ठूलो झट्का, इजरायलमा उत्सव

लोकपथ
63
Shares

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हमासका प्रमुख याह्या सिन्वरको पनि हत्या गरेको छ । इजरायलले गरेको फिंगर प्रिन्ट्स् र डीएनए परीक्षणबाट सिन्वर मारिएको पुष्टि भएको हो ।

आईडीएफले बिहीबार विज्ञप्ति जारी गर्दै सिन्वरलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिन्वर मारिएको पुष्टि गर्दै यसलाई महत्वपूर्ण सैन्य उपलब्धिको रुपमासमेत व्याख्या गरेका छन् ।

इजरायलको परराष्ट्र मन्त्रालयले बिहीबार एक्समा पोस्ट गर्दै इजरायल डिफेन्स फोर्सले अपरेसनका क्रममा गाजापट्टीमा तीन जना ‘आतंककारी’ मारिएकोमा एक जना हमास प्रमुख सिन्वर हुन सक्ने सम्भावना रहेको बताएको थियो । त्यसपछि सिन्वरको भनिएको शवको डीएनए परीक्षण गर्दा सो शव सिन्वरकै भएको पाइएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।

सिन्वरको मृत्यु उनैलाई निशाना बनाएर गरिएको कुनै विशेष सैनिक कारबाहीमा नभएको पनि इजरायलले प्रष्ट पारेको छ । उनी गाजापट्टीमा इजरायली सेनाले गरेको नियमित कारबाहीमा मारिएको पनि इजरायलले जनाएको छ । आतंकवादीहरू मारिएको भनिएको भवनमा अरू कोही नरहेको र उक्त क्षेत्रमा सेनाले सतर्कताका साथ काम गरिरहेको इजरायली परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

आईडीएफले एउटा भवनमा हमासका लडाकुहरू भएको आशंकामा ट्यांकले आक्रमण गरेपछि सैनिकहरु भित्र पसेर हेर्दा सिन्वर जस्तै देखिने व्यक्तिको शव भेटिएपछि सिन्वरको डीएनए रेकर्डसँग उक्त शवको डिएनए मिलेको पाइएपछि उनी मारिएको पुष्टि इजरायलले गरेको हो । सिन्वर दुई दशकभन्दा बढी इजरायली जेलमा बसेकाले उनको डीएनए परीक्षण गर्न इजरायललाई सजिलो भएको थियो ।

इजरायलमाथि गत वर्ष हमासले आक्रमण गर्दा सिन्वर गाजाका प्रमुख थिए । इजरायलले ३१ जुलाईमा इस्माइल हनियेको हत्या गरेपछि सिन्वर हमास प्रमुख चुनिएका थिए । ६१ वर्षीय हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला हत्या भएको थियो ।

जुलाई १३ मा इजरायलले गाजाको खान युनिस सहरबाहिर हवाई आक्रमण गर्दा हमासका सैन्य कमान्डर मोहम्मद देइफको मृत्यु भएपछि सिन्वर हमासका सैन्य कमान्डर बनेका थिए । इजरायलमाथि एक वर्षअघि आक्रमण गर्ने योजना देइफ र सिन्वर दुई जनाले सँगै मिलेर बनाएका थिए ।

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि सिन्वर जिम्मेवार रहेको जनाएको छ । सिन्वर गत वर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली दाबी छ । सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो ।

सिन्वरले गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका थिए । सिन्वार चरमपन्थी नेता मानिन्छन् । उनको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयासहरू असफल भएको बताइन्छ । सिन्वर यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि थिए । यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिन्वरसमेत मारिएपछि हमासलाई झट्का लागेको छ ।

हमासका प्रमुख सिन्वर इजरायली हमलामा मारिएपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ । राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् ।

सिन्वर मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिन्वरकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण सैन्य उपलब्धि मानिएको छ । सिन्वरको मृत्युपछि अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव मनाइरहेका छन् । सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयी भावमा झण्डा फहराएका छन् । त्यस क्षेत्रमा ठूलो स्वरमा संगीत घन्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?