रवि लामिछानेलाई पक्राउ गर्ने तयारी, काठमाडौं परिसरको प्रहरी संसद् भवन बाहिर

लोकपथ
1.1k
Shares

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरिएको छ । रविलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली यति बेला संसद् भवन बाहिर रहेको श्रोतले बताएको छ ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको कसुरमा जीवी राईसहित रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रतिवादी बनाउन लामो समयदेखि दबाब थियो । केही समय अगाडि छविलाल जोशीलाई पक्राउ गरेपछि सोही रात रवि लामिछानेलाईसमेत पक्राउ गर्ने तयारी थियो ।

तर रविलाई पक्राउ गर्ने तयारी गरे लगत्तै रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताको भीड जम्मा भएपछि प्रहरी रविलाई पक्राउ गर्ने तयारीबाट पछाडि हटेको थियो ।

पूर्व डिआइजी छविलाल जोशीलाई अदालतमा पेस गर्ने दिन नजिकिँदै जाँदा रवि लामिछानेलाईसमेत पक्राउ गर्ने प्रहरीको तयारी छ । रविको विषयमा थप प्रमाण जुटाउन केन्द्रीय अनुसन्धान ब्युरोबाट केही दिनअघि मात्रै एक इन्स्पेक्टर र वरिष्ठ सई कास्की पुगेका थिए । अनुसन्धानले रविलाई पक्राउ गर्ने आधार तयार पारेपछि रविलाई पक्राउ गर्न लागिएको हो ।

रविलाई तत्काल पक्राउ गरी जरुरी पक्राउ पुर्जी लिने कि अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गर्ने भन्ने सम्बन्धमा प्रहरी अन्योलमा छ । बिहीबार गण्डकी प्रदेशमा बिदा रहेकाले शुक्रबार मात्रै गण्डकी प्रदेशका अदालत खुलेका छन् । कास्की जिल्ला अदालत पनि शुक्रबार मात्रै खुलेको कारण पहिले कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिने र त्यस लगत्तै रविलाई पक्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायत राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी लगायतले आन्दोलनको तयारी गर्दै गर्दा सत्तारुढ दलले भने रविलाई पक्राउ गरी सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान र अभियोजन गर्ने तयारी गरेको छ ।

कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अनधिकृत रूपमा गोर्खा मिडिया प्रालिमा ल्याई अपचलन गरेको र उक्त अपचलनमा रास्वपा सभापति रवि लामिछानेकोसमेत प्रत्यक्ष संलग्नता रहेको भन्दै उनी विरुद्ध मुद्दा चलाउने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?