राजनीतिक वृत्त नै तरंगित हुनेगरी प्रचण्डले कसरी झुक्याए महन्थ ठाकुरलाई ?

लोकपथ
490
Shares
फाइल तस्बिर

काठमाडौं । सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि यतिबेला राजनीतिक वृत्त तरंगित बन्न पुगेको छ । सरकार परिवर्तनको हल्ला चलिरहेका बेला सत्ता गठबन्धनमै रहेका दुई दलका अध्यक्षहरु विपक्षी गठबन्धनको बैठकमा सहभागी भएकाले पनि राजनीतिक वृत्त थप तरंगित बन्न पुगेको हो ।

प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान बोलाएको विपक्षी दलको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादीको उपस्थिति त हुने नै भयो । तर लोसपा अध्यक्ष ठाकुर र नाउपा अध्यक्ष श्रेष्ठ पनि सहभागी भएपछि राजनीतिक वृत्त एकाएक तरंगित बन्न पुगेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समेत यो विषयलाई गम्भीर रुपमा लिँदै ठाकुर र श्रेष्ठको उपस्थितिप्रति चासो व्यक्त गरेका छन् । सत्ता पक्षका मुख्य सचेतकसमेत रहेका एमाले नेता महेश बर्तौलाले भने सरकारमा सहभागी दल लोसपा नेपालका अध्यक्षलाई विपक्षी गठबन्धनको बैठकमा कुन हिसाबले बोलाइयो र त्यस्तो बैठकमा सत्ता घटकका नेता कुन हिसाबले गए भन्नेकुरा उनीहरूकै व्यक्तिगत विषय भएको बताएर यो विषयलाई ‘सामान्यीकरण’ गर्न खोजेका छन् । उनले भनेका छन्, ‘के विषयमा, कुन हिसाबले उहाँहरूले बोलाउनु भयो, त्यो उहाँहरुको कुरा हो, सहभागिता जनाउनेले पनि किन र केका लागि त्यस्तो बैठकमा जानुभयो, त्यो स्वयं उहाँ र उहाँको दलको कुरा भयो ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससमेत सहभागी सरकारमा लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । यस्तै, नाउपाबाट अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।

नाउपाका नेता रेशम चौधरी ओली सरकारसँग सन्तुष्ट छैनन् । उनले दसैंपछि आफ्नो पार्टी सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएकै थिए । रञ्जिता श्रेष्ठको उपस्थितिलाई सत्ता गठबन्धनले त्यति महत्व दिएको देखिँदैन । तर, महन्थ ठाकुरको उपस्थितिले भने सत्तापक्षलाई झस्कायो ।

तर, जब बैठक सकियो, ठाकुर आफैले प्रचण्डले विपक्षी गठबन्धनको बैठक नभनी डाकेपछि झुक्किएर बैठकमा पुगेको बताएपछि सत्ता गठबन्धनले ‘राहत’ को सास फेरेको छ ।

विगतमा सरकारमा सहकार्य गरेका ठाकुरलाई प्रचण्डपुत्री गंगा दाहालले फोन गरेर छलफलका लागि निम्ता गरेपछि आफू गएको र त्यहाँ पुगेपछि छक्क परेको ठाकुर स्वयंले बताएका छन् ।

‘एउटा पार्टीको नेताले छलफल गरौँभन्दा अस्वीकार गर्ने कुरा भएन । जब म बैठकमा पुगे त्यहाँ प्राकृतिक विपत्ति व्यवस्थापनका आधारमा सरकार असफल भएको भनेर छलफल भयो, मैले प्राकृतिक विपत्तिमा सत्तापक्ष विपक्ष हुँदैन । सबैले साझा प्रयासबाट नागरिकलाई राहत दिन लाग्नुपर्छ भन्ने धारणा राखेको छु,’ ठाकुरले भनेका छन् ।’

उनले आफू झुक्किएर बैठकमा सहभागी हुन पुगेको भन्दै अन्य राजनीतिक विषयमा छलफलमा सहभागी हुन तयार रहेको भन्दै सरकारमा रहेको आफ्नो पार्टी सत्तारूढ नै भएकाले विपक्षी गठबन्धनमा नबोलाउन पनि आग्रह गरेका थिए ।

बैठकमा उनले विपक्षीका तर्फबाट हुने निर्णयमा आफूलाई सामेल नगराउन पनि आग्रह गरेका थिए । ठाकुरले आफ््ना पार्टीका चारजनालाई राजनीतिक प्रतिशोधकै आधारमा जन्मकैदको फैसला भएको भन्दै त्यस्ता राजनीतिक विषयमा विपक्षीहरूको भूमिका महत्वपूर्ण हुने भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरूको ध्यानाकर्षण गरेका थिए ।
लोसपा नेपालका अन्य नेताहरूले पनि आफ्नो दलका अध्यक्षलाई माओवादी अध्यक्ष प्रचण्डले झुक्क्याएर बोलाएको दाबी गरेका छन् । लोसपा नेपालका महासचिव मनिष मिश्रले आफ्नो दलका अध्यक्ष ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएका कारण गएको बताए ।

उनले भने, ‘हाम्रो दल सरकारमा रहेका कारण प्रतिपक्षी दलहरूको बैठकमा जाने कुरा नै हुँदैन तर अध्यक्ष प्रचण्डले तपाईंसँग समसामयिक विषयमा छलफल गर्नुछ एकपटक भेटौँ भनी आफैँ फोन गरेर बोलाउनुभयो । यसरी प्रधानमन्त्री भइसकेका प्रतिपक्षी दलका नेताले छलफलका लागि बोलाएपछि नजाने कुरा हुँदैन, हाम्रो अध्यक्षज्यू जानुभयो तर त्यहाँ अरू दलका नेताहरू पनि हुनुहुन्थ्यो, जसलाई प्रतिपक्षी दलहरूको बैठक भनी प्रचार गरियो ।’

अध्यक्ष ठाकुरले बैठकमा केही कुरा नगरी उनीहरूको कुरा सुनेर फर्किएको महासचिव मिश्रले बताए ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पनि प्रतिपक्षी दलको बैठकका रुपमा आफूलाई खबर नगरिएको बताइन् । आफूलाई बैठकका लागि मात्र निम्तो गरिएको उनको भनाई थियो ।

‘पूर्वप्रधानमन्त्री प्रचण्डले बैठक छ भनेर बोलाउनुभएको थियो, म पुगेको मात्र थिएँ, बैठक सकियो, प्रतिपक्षी दलको बैठक छ भन्ने पनि थाहा भएन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?