नेपालमै फल्ने अर्गानिक स्याउ खेर गएको भन्दै सरकारको ध्यानाकर्षण

लोकपथ
35
Shares

काठमाडौं । उत्पादन महाअभियान नेपालले अर्बौँ रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्गानिक स्याउ बारीमै कुहिन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । 

शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियानले गोरखामा तीन वर्षदेखि व्यावसायिक स्याउ उत्पादन हुन थालेको भएपनि बाटो अभावका कारण उक्त स्याउ बजारमा आउन नसकेको बताएको हो । 

उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डित (तुफान) ले पत्रकार सम्मेलनमा बोल्दै किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानहरूलाई पलायन हुनबाट रोक्नको लागि राज्यका सबै निकायको ध्यानाकर्षण गराए । 

उनले भने, ‘नेपालको विभिन्न ठाउँमा फलेका रसिलो, स्वास्थ्य, पोसिलो र विषादीरहित स्याउ अहिले बारीमै कुहिने अवस्थामा पुगेको छ । यता बजारमा हामीले अर्बौँको विषादीयुक्त स्याउ विदेशबाट आयात गरेर खाइरहेका छौँ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा लाखौँ किलो स्याउ फलिरहेको छ । यो क्षेत्र स्थानीय नेपाली स्याउ फल्ने विशेष क्षेत्र हो । तीन वर्षयता यहाँ व्यावसायिक स्याउ उत्पादन हुन थालेको छ । बाटो अभावको कारण उक्त स्याउ बजारमा आउन सकेको छैन । यसतर्फ राज्यका सम्पूर्ण निकायहरूका ध्यानाकर्षण गराउँदै आएका छौँ । यद्यपि सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । त्यसैले किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानहरूलाई पलायन हुनबाट रोक्नको लागि हामीले राज्यको ध्यानाकर्षण सशक्त रूपमा गराउन चाहन्छौं ।’

उनले दुई हजार पाँच सय देखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा किसानहरूले उत्पादन गरेको स्याउलाई बजारसम्म ल्याउने विषयमा गम्भीर छलफल गर्न आवश्यक रहेको बताए । 

महाअभियानको पहलमा हेलिकप्टरबाट ४ सय ५० किलो स्याउ बजार पुर्‍याउँदा प्रति किलोग्राम ६ सय ६६ रुपैयाँ पर्न गएको उल्लेख गर्दै उनले सरकारले बाटोघाटो निर्माणमा समेत तदारुकता देखाउन जरुरी रहेको बताए । 

‘२५ सय देखि ३ हजार मिटरको हिमाली क्षेत्रमा किसानहरूले उत्पादन गरेको स्याउलाई कसरी बजारसम्म ल्याउन सकिन्छ भन्ने विषयमा गहन छलफल र पहल गर्न आवश्यक छ । त्यस क्षेत्रमा रहेका किसान, उद्यमीहरूको संरक्षण  गर्ने र हौसला प्रदान गर्न पर्नेछ । उक्त स्याउलाई त्यहाँको स्थानीय स्रोत साधन, मान्छे, खच्चड, फोर व्हील गाडीहरू हुँदै ठूलो ट्रक जाने ठाउँसम्म ल्याउनको लागि प्रति केजी ५० रुपैयाँ जति ढुवानी लाग्ने देखिएको छ । त्यसै गरी लोड अनलोड, प्याकिङ, बजारिकण गरी १०० प्रति केजी खर्च लाग्ने देखिन्छ । गत असोज २५ गते हामीले महाअभियानको पहलमा हेलिकप्टरबाट ४५० किलो स्याउ ल्याउँदा प्रति केजी ६६६ रुपैयाँ पर्न आएको छ । यसरी हेलिकप्टर मार्फतबाट ल्याउँदा ठूलो धनराशि खर्च गरेर बजारसम्म पुर्‍याउन सक्ने गरी किसानको हैसियत बनिसकेको छैन । यसका लागि बाटो र सडक निर्माणमा समेत सरकारले ध्यान दिन जरुरी रहेको छ ।’ उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?