पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

लोकपथ
21
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा  एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । 

अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुन हिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क संकलन, होटेल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ । 

अन्नपूर्ण –२ मा रहेको भुरुङ्ग–तातोपानी, वडा नम्बर ५ को पाउद्धार तातोपानी र वडा नम्बर ६ को रातोपानी कुण्डमा प्रवेश शुल्क, होटेल तथा चिया पसल सञ्चालनका लागि विभिन्न होटलहरुले प्रतिस्पर्धा मार्फत क्रमशः ५६ लाख २५ हजार तीन सय ७७,  २८ लाख ७६ हजार पाँच सय पाँच र  दुई लाख ६१ हजार पाँच सय ५५ मा आर्थिक वर्षको सुरुमै ठेक्का सम्झौता भएको थियो । 

अन्नपूर्ण –६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि  ४० लाख एक सयमा असोज अन्तिम हप्ता सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । अग्रिम रूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको उनले बताए । 

‘तीन तातोपानी कुण्डमा पहिलो सूचनामै ठेक्का परेको थियो,’ उनले भन ‘ ५५ लाख न्यूनतम आय अनुमान गरिएको पुनहिलमा तीन पटक सम्म सूचना प्रकाशन गर्दा समेत कसैको ठेक्का नपरेपछि आर्थिक वर्ष सुरु भएको तीन महिनापछि  ४० लाख एक सयमा सम्झौता गरिएको हो ।’

पुन हिल र भुरुङ्ग–तातोपानीको होटेल हटस्पिरिङ, पाउद्धार तातोपानी कुण्ड कालीगण्डकी रुफटफ प्रा।ली। र रातोपानी कुण्ड होटेल एभरेष्ट पोखरेबगरले ठेक्का लिएका हुन् । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटेललाई वार्षिक रूपमा व्यवसाय करवापत हरेकलाई  ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत ३६ हजार वाहलबटौली कर लिने गरेको छ ।

चालु आर्थिक वर्षमा एक करोड ७२ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रलाई मुख्य आयस्रोत बनाएको र पहिलो चौमासिकमै लक्ष्य नजिक पुगेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए। 

मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटेल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर संकलन गर्दै आएको छ । 

घोडेपानी, पुन हिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरू रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?