पक्राउ पुर्जी जारीपछि रवि : ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

लोकपथ
490
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै सरकारविरुद्ध प्रतिक्रिया दिएका छन् । शुक्रवार लामिछानेले फेसबुकमा स्टाटस पोष्ट गर्दै सरकार मरेको प्रतिक्रिया दिएका हुन् ।
त्यस्तै रवि लामिछानेले तस्करले दिएको करोड पर्ने घडी लगाउनेहरुले आफ्नो हातमा हतकडी लगाउन लागेको समेत आरा्प लगाएका छन् ।

रविले यस्तो लेखेका छन् :

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ??

तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?

तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ?

तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?

तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?

यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो । वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईहरुका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईहरु तिनलाई जोगाउन लागि पर्नु भएको छ । अब तपाईहरुबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौँ ।

ठिक छ, म तपाईहरुको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाँडै रसातलमा पु-याएको यो देशले चाँडै देख्ने छ । शुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।

अहिलेलाई, सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?