रविले भने, ‘तिमीहरुको दिन गन्ती सुरु भयो, कानुनलाई सघाउँछु’

लोकपथ
518
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू विरुद्ध पक्राउ पुर्जी जारी भए लगत्तै कानुनलाई सघाउने प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकका एक पोस्ट गर्दै लामिछानेलाई कानुनलाई सघाउने बताएका हुन् ।

सरकार र प्रधानमन्त्री आफ्ना गल्ती छोप्न र भाटभटेनीको इस्यु मोड्नका लागि आफूलाई पक्राउ गर्न खोजिएको भन्दै यसै घटनाबाट सरकारको दिन गन्ती सुरु भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘म तपाईँहरूको दिन गन्ती सुरु भएको खुसीयालीमा कानुनलाई पुरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

लामिछानेको प्रतिक्रिया यस्तो छ :
तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ??

तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?

तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौँको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ?

तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने ?

तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनु पर्ने ?

यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्त्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईँले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । वाचा स्वरूप तपाईँले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात् प्रमाण हो । तपाईँहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईहरु तिनलाई जोगाउन लागि पर्नु भएको छ । अब तपाईँहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौँ ।

ठिक छ, म तपाईँहरूको दिन गन्ती सुरु भएको खुसीयालीमा कानुनलाई पुरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कु नियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरुवात तिमीहरूले गर्‍यौ, अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।

अहिलेलाई, सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर मलाई न्यायालयप्रति आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?