बाढी–पहिरो प्रभावित क्षेत्रमा तीव्र रूपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक 

लोकपथ
0
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी–पहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् । 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको १४औँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको काम भइरहेको बताएका हुन् । 

बाढी पहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले बताए । 

उनका अनुसार बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकबाट अति क्षति भएको पालिकालाई एक करोड, मध्ये क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएको छ । 

असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनर्स्थापना र पुनर्निर्माणको काम भइरहेको उनको भनाइ छ ।   ‘एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरी निर्णय गर्न आवश्यक छ । पुनर्स्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ,’ गृहमन्त्री लेखकले बताए । विपद्मा सीमित स्रोत साधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोत साधनको आवश्यकता औँल्याए । 

साथै उनले विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा असोज दोस्रोसाता आएको विपत्तिमा नेतृत्वदायी भूमिका खेलेको भन्दै भौतिक पूर्वाधार मन्त्री, स्वास्थ्य मन्त्री, खानेपानी मन्त्री लगायतले गृहमन्त्री लेखकको प्रशंसा गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?