काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा सफाइ पाउने विश्वास व्यक्त गरेका छन् ।
पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले अदालती प्रक्रिया पार गरेपछि लामिछानेले सफाइ पाउनेमा आफू विश्वस्त रहेको बताए ।
उनले लामिछानेले नै आफूमाथि लागेको आरोपको निरुपण गर्नका लागि सघाउने निर्णय गरेको भन्दै त्यसबाट आफू निर्दोष सावित हुने बताएको भन्दै आफू त्यसमा विश्वस्त रहेको बताए । त्यस्तै उनले रवि वैकल्पिक राजनीतिको एजेण्डा लिएर आएको भन्दै सहानुभूति समेत व्यक्त गरे ।
‘मैले उहाँको बोली सुने अनुसार जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभए पनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर उहाँले बोलिसकेको हुनाले उहाँप्रति मेरो सहानुभूतिका साथ यसलाई उहाँले यो प्रक्रियालाई ठिक ढंगले टुंग्याउँछु भनेर उहाँले भन्नुभएको छ र हुनेछ भन्ने मलाई विश्वास छ । र हाम्रो पार्टीको तर्फबाट र मेरो व्यक्तिगत निजी धारणाचाँही के हो भने लोकतन्त्र भनेको विधिको शासन हो । खुला र पारदर्शी हुनुपर्छ । ठुलो र सानो जो भए पनि कसैलाई पनि अन्याय गरिनु हुँदैन । कोही निर्दोष छ भने कसैलाई पनि फसाइनु हुँदैन । कोही दोषी छ भने उम्कनु हुँदैन भन्ने नै वैकल्पिक राजनीतिको मान्यता हो । त्यसैले रविजीले त्यसलाई पुष्टि गर्नुहुनेछ भन्ने मलाई विश्वास छ,’ उनले भने ।
सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार साँझ लामिछानेलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया