वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व संकलन गरेको छ ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए । ‘साउनयता मासिक लक्ष्यअनुसार राजस्व संकलनमा केही वृद्धि भइरहेको छ, ’उनले भने गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब तीन करोड बढी राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड ३२ लाख राजस्व संकलन गर्यो । दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् १३ अर्ब ४७ करोड ९६ लाख राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख राजस्व संकलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् १४ अर्ब २७ करोड ४४ लाख राजस्व संकलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया