काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र सहकारीपीडित दुवै पक्षले आन्दोलन गर्दैछन् ।
सहकारी ठगी प्रकरणमा लाछिानेलाई पक्राउ गरेर लगिएपछि रास्वपाका नेता कार्यकर्ताहरु पोखरा केन्द्रित भएका छन् । त्यसो त विभिन्न सहकारीका पीडितहरुले समेत आजै प्रदर्शनको तयारी गरेपछि प्रशासनले पोखरा महानगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।
जसअनुसार पोखराको शहीदचोकमा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जहाँ रास्वपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् । पूर्वतर्फ ः वाई चोक –उत्तरपूर्व तर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, कास्की र दक्षितर्फ मुस्ताङ चोक (दक्षिणपश्चिम तर्फ पर्यटन बोर्डको कार्यालय अगाडी ड्यामसाइड) लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । जहाँ ५ जना भन्दा बढी मानिसहरु भेला हुन, हुलहुज्जत नगर्न समेत प्रशासनको निर्देशन रहेको छ ।
त्यस्तै प्रशासनले गैह्रापाटन आसपासका क्षेत्रमा समेत निषेधाज्ञा जारी गरेको छ । पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान ११ः४५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिएको छ । हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया