काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकार रहिरहेसम्म देशले दुख पाइरहने टिप्पणी गरेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराउने क्रममा कास्की जिल्ला अदालत अघि सो कुरा बताएका हुन् ।
उनले आफूलाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै सरकारको अधियानवादी चरित्रविरुद्ध देशभरबाट बाहिर निस्कन आग्रह गरे ।
‘न्यायप्रेमी जनतासँग धेरै विश्वास छ । तर केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुख पाउनेछ,’ उनले भने, ‘यो अधिनायकतावादी सरकारको विरुद्ध चाँही यही बेलामा देशैभरबाट जो जो जहाँजहाँ हुनुहुन्छ, मेरो लागि होइन यो देशका लागि बाहिर निस्किन पर्ने बेला आउन सक्छ म सबैलाई अपिल गर्न चाहान्छु ।’
शुक्रबार पक्राउ परेका लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
त्यस्तै उनले वर्तमान सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहने दोहोर्याए ।
‘यो सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहन्छ उसले । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ । पोखरामा रहनुभएका सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनीलाई म भन्न चाहन्छु, केपी ओलीको सरकार नढलेसम्म, केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन्, यो देश कहिल्यै बन्दैन,’ उनले थपे ।
लामिछानेले पक्राउ परेको विरोधमा रास्वपाले आज पोखरामा प्रदर्शन समेत गरेको छ । पोखराको शहीद चोकमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीको अवस्था समेत सिर्जना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया