‘हनी ट्याप’ मा मुछिएकी इन्सपेक्टर शाहीसहित सबै आरोपीमाथि संगठित अपराधमा पनि अनुसन्धान हुने

लोकपथ
133
Shares

काठमाडौं । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक विनुकुमारी शाही मुछिएको ‘हनी ट्र्याप प्रकरण’ मा संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।

अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम समयमा ललितपुर प्रहरीले जिल्ला अदालत ललितपुरबाट संगठित अपराधमा म्याद थप गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले संगठित अपराधमा अनुसन्धान भइरहेको बताए । संगठित अपराधमा म्याद लिएसँगै अब पक्राउ परेका सबै जनालाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।

प्रहरी निरीक्षक शाहीमाथि पक्राउ पुर्जी पनि जारी भइसकेको छ । यसअघि उनलाई भैँसेपाटी प्रहरी प्रभागबाट हटाउनुका साथै निलम्बन गरिएको छ । निलम्बन पछि उनी फरार छिन् । यद्यपि, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । हनी ट्र्यापको घटनालाई बलात्कारमा फसाइ दिने भन्दै पीडितसँग ३० लाख रुपैयाँ असुलेको आरोपमा हालसम्म चार जना पक्राउ परिसकेका छन् ।

‘हनी ट्र्याप’ घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै प्रहरी निरीक्षक शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ । पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो । ती व्यवसायीले आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्चार्ज प्रहरी निरीक्षक शाही पनि मिलेको आरोप लगाएपछि डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समिति गठन भएको थियो । समितिको सिफारिसको आधारमा इन्स्पेक्टर शाहीलाई निलम्बन गरिएको थियो ।

यो प्रकरणमा प्रहरीले भैँसेपाटी प्रभागमै कार्यरत एक जना सहायक हवलदारसहित ४ जनालाई पक्राउ गरिसकेको छ । पछिल्लो पटक भने. सुनसरीको इटहरी घर भएकी भीमादेवी थापालाई प्रहरीले पक्राउ गरेको थियो । यस अघि प्रहरीले सुस्मा विक र इटहरी घर भएका ताज मूल इस्लामलाई पक्राउ गरेको थियो ।

सो घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल भने फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको थियो ।

सो समूहले ललितपुरको साना गाउँका घरजग्गा कारोबारीबाट ३० लाख असुलेको थियो । पछिल्लो पटक पक्राउ परेकी भीमादेवीको खातामा दुई पटकमा २० लाख रुपैयाँ जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?