११ दिनपछि अवकाशमा जान लागेकी डीआईजी राणालाई ओली सरकारको विशिष्ट ‘पुरस्कार’

लोकपथ
2.3k
Shares

काठमाडौं । उमेर हदका कारण ११ दिनपछि अनिवार्य अवकाशमा जाँदै गरेकी नेपाल प्रहरीकी एक जना नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी छन् ।

डीआईजी/एआईजीको ५६ बर्से उमेर हदका कारण आगामी १५ कात्तिकमा अनिवार्य अवकाशमा जाँदै गरेकी डीआईजी किरण राणा एआईजीमा सिफारिस भएकी हुन् । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो । हाल उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छिन् । उनको दरबन्दी भने केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेको छ ।

राणा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण आगामी कात्तिक १५ मा अवकाशमा जाँदैछिन् । अवकाशको मुखैमा पुगेकी उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले विशिष्ट श्रेणीको एआईजी पद ‘पुरस्कार’ दिन लागेको हो । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पूरा भएमा अनिवार्य अवकाशमा जान्छन् ।

एआईजीमा सिफारिस राणा कांग्रेस नेता ज्ञानेन्द्र कार्कीकी नातेदार हुन् । सोही कारण अवकाशको मुखैमा उनलाई विशिष्ट श्रेणीको एआईजी पद पुरस्कार मिल्न लागेको हो । विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुने हुनाले पनि उनलाई एआईजीमा सिफारिस गरिएको हो ।

त्यसो त अवकाशको मुखैमा एआईजीमा सिफारिस हुने उनी मात्र एक्ला उच्चपदस्थ प्रहरी अधिकृत होइनन् । यसअघि पनि शक्ति र सत्ताको नजिक हुनेहरूलाई अवकाशको मुखमा बढुवा दिएर पठाइने गरेको प्रचलन छ । रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा दुई दिनमै अवकाशमा जान लागेका डीआईजी पोषराज पोखरेललाई उनकै जोडबलमा बढुवा सिफारिस गरिएको थियो । तर, सरकार परिवर्तन भएका कारण एआईजी बनेर भविश्यमा विभिन्न आयोग तथा सरकारी नियुक्ति पाउने उनको सपना पूरा हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?