इन्सपेक्टर विनु शाहीलाई पक्राउ पुर्जी जारी भएको ‘हनी ट्र्याप प्रकरण’ मा एसपी थापा पनि मुछिए

लोकपथ
896
Shares

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) विनुकुमारी शाही मुछिएको ‘हनी ट्र्याप प्रकरण’ मा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) कमल थापा पनि मुछिएका छन् । उनलाई अनुसन्धानका लागि भन्दै अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ ।

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको यो प्रकरणमा नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई दसै बिदालगत्तै फिर्ता बोलाएको हो । अहिले प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरिरहेको छ । उजुरी छानबिन शाखाको प्रमुखमा एसएसपी गणेश चन्द र एसपी प्रकाश मल्ल छन् ।

घटनाबारे छानबिन गर्न परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । सो समितिले प्रहरी निरीक्षक शाहीलाई निलम्बन गर्न सिफारिस गरेपछि शाही निलम्बनमा परेकी छन् । निलम्बनपछि पक्राउ पुर्जी नै जारी भएपछि प्रहरी निरीक्षक शाही ‘फरार’ छिन् । यद्यपि, उनको खोजी भइरहेको ‘रेडिमेट’ जवाफ प्रहरीले दिँदै आएको छ ।
ललितपुरका एसएसपी शेखर खनाल इन्सपेक्टर शाहीको खोजी भइरहेको बताउँछन् । ‘फेला पर्नासाथ नियन्त्रणमा लिएर कारबाही अघि बढाउँछौं’, उनले भने ।

डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी कमल थापामाथि पनि अनुसन्धान गर्न सुझाव दिएको छ । हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबीच असोज ७ गते एक पटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सीसीटीभी फुटेज समेत समितिले फेला पारेको छ । उनीहरुबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेस्टुरेन्टमा असोज ७ गते साँझ साढे ६ बजे भेट भएको थियो । त्यहाँ उनीहरुबीच करिब आधा घण्टा भेटघाट भएको फुटेजसमेत समितिले प्राप्त गरेको थियो ।

सुनसरीको एसपी हुँदादेखि नै थापासँग ताज स्लामको सम्बन्ध राम्रो थियो । त्यस्तै, एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला प्रहरी निरीक्षक बिनुकुमारी शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् । त्यसैले पनि एसपी थापा मार्फत् नै ‘विश्वासिलो’ ठाउँको खोजी गर्दै ताज स्लामको समूह शाही नेतृत्वको भैंसेपाटी प्रहरी प्रभाग पुगेको थियो ।

प्रहरी निरीक्षक शाही कार्यरत भैंसेपाटी प्रहरी प्रभागमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुनु शंकास्पद रहेको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

ताज स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ । सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरु भैंसेपाटी पुगेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनाले पनि यसअघि इन्सपेक्टर शाहीसँग चिनजान नभएको बताएका छन् ।

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना ललितपुर प्रहरी हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका ताज र फरार दर्शनले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । ती व्यवसायीसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरुले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ ।

हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्र्यापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ । व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँ माग भएको थियो । पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको थियो । जसअनुसार १३ लाख र ७ लाख रुपैयाँ गरेर दुई पटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो ।

यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ । यो घटनामा पक्राउ पुर्जी जारी भएका प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर शाही र इटहरीका दर्शन पोखरेल भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?